‘प्रेमगीत ३’ को शुभमुहूर्त सम्पन्न

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शुक्रबार, कार्तिक २२, २०७६

काठमाडौं / प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहने चलचित्र ‘प्रेमगीत ३’ को शुभमुहूर्त सम्पन्न भएको छ । शुक्रबार बिहान दक्षिणकालीमा विशेष पूजाआजा गरी चलचित्रको शुभमुहूर्त गरिएको निर्देशक सन्तोष सेनले जानकारी दिएका छन् ।

काठमाडौंको बल्खुमा भव्य सेट बनाएर चलचित्रको सुटिङ गरिने भएको छ । आगामी चैत २८ गते रिलिज डेट तोकिएको चलचित्रमा छायांकन मनाङ र काठमाडौँमा हुनेछ ।

निर्माता निर्देशक सन्तोष सेनले नेपालमा हुने भिएफएक्सको भर पर्न नसकेर मनाङको स्ट्रक्चरमा काठमाडौँमा सेट निर्माण गरेर बनाएका छन् । योसँगै चलचित्रमा केही प्रतिशत मात्र भिएफएक्स हुने र बाँकी नेचुरल हुने उनको भनाइ छ ।

चलचित्रमा प्रदीप र क्रिस्टिनाका अलावा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुष्कर कार्की, प्रेम पुरी, लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, समृद्धि शाही ठकुरीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।

दुई सय वर्ष पुरानो प्रेमकथामा बन्न लागेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

समाचार सेयर गर्नुहोस