जानी जानी आफ्नो आँसु आफ्नै छोरालाई बेची रहेछु ..

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : शनिबार, कार्तिक १६, २०७६

.. निरीह जिन्दगी ..

जीवन के हो .?
जीवनको सार्वभौम सत्य के हो .?
रगत नाता र आफन्त बिचको अभिन्न सम्बन्ध के हो .? जहाँ थाहा नै छैन भने केही , यी निरीह सास जोगाएर बाँच्न ख्याल् ख्याल् कहाँ रहेछ र सन्तान हुनेहरुलाई पनि ..!

सम्झेरपनि गर्न नसकेका काम र गरेर पनि पूरा नभएका उदेश्य कति थिए होलान् मेरा पनि ..! आफू सधैंको रुखो जिन्दगी बाँचेर- सन्तान सम्पत्ति खर्चेर पढायो हुर्कायो र बढायो आर्थिक कंगाल हुइन्जेल शहर पठाइ पठाइ ।

पछि आँखा उघ्रे , पखेटा पलाए र गुँड छोडेर भुर्र उडे सबै .!
अनि आफू हिजो जस्तै फ़ेरि एक्लै घर पालुवा..! म आमा – अनपढ मैले पारिवारिक जिम्मेवारी मात्र बुझेँछु । सन्तानको माया अनि पीडा र दुख मात्र बुझेँछु र थोर बहुत ब्यवहार बुझेँछु..!

उनिहरु भने ईन्टरनेटभित्र पसेर विश्व पढ्ने मान्छे बनिसके छन् .! त्यसैले होला , हरेक शब्दमा अर्थ- हरेक अर्थमा तर्क र हरेक तर्कमा तारहरु भिन्न हुन्थे सधैं मेरा र मेरा छोराका बुझाइमा ..!

म माया मनले गरिन्छ भन्थेँ ! ऊ माया धनले गरिन्छ भन्थ्यो .!
तर भावनाले साच्चिकै पेट भरिएन कहिल्यै मेरोपनि । त्यसैले कुरो धनको आएपछि – मागी रहेँ मैले – मनको आउँथ्यो भने आज म यहाँ हैन उहिल्यै छोरासंगै हुन्थ्येँ होला ।

एउटा समुन्द्र पारी , फोन नगरे हुन्थ्यो , फिटिक्क बोल्ने फुर्सद थिएन उसलाई । अर्को नजिकै शहरको रंगमञ्चमा मस्त..!

छोराको कमाई तानेर खान पाउँने अधिकार त बुहारी भित्र्याएकै दिन काँटीमा झुन्ड्याइसकेकी थिएं मैले । तर पनि
म उसंग घरी न घरी उसलाई जन्माएको मोल मागी रहन्थेँ । ऊ मलाई हरेक महिनाको अन्तिम दिन खोकिको ओखती किन्ने पैसा पठाउँथ्यो र मन नथाकुन्जेल गाली गरिरहन्थ्यो ।

उस्को परवरिसमा मैले पुर्याउन नसकेका सुविधा र पुरा गर्दिन नसकेका चाहना सम्झदै अनेकन कमजोरी केलाउँथ्यो र मप्रती औंला उठाइ रहन्थ्यो ।

तर उसलाई राम्रोसंग थाहा थियो , अरुलाई कोट्याएर दुखाउन जति सजिलो छ आफूलाई निहाल्न उतिनै कठिन छ भन्ने कुरा!

ऊ आज ब्याक्तीगत चाहना पुरा गर्ने दौडमा थियो । त्यसैले उस्ले मातृत्व र आफ्ना चाहनालाई कहिल्यै तुलना गरेन । अधिकार र कर्तव्यलाई कहिल्यै तुलना गरेन । न आत्मियता साट्ने कोशिस गर्यो मसंग कहिल्यै उसले । तुलना गर्यो त केवल सम्पत्ति र सम्बन्धलाई ।

तर पनि भाग्यलाई छलेर सधैं मुस्कुराउँन खोज्थेँ म , हरेक महिनाको अन्तिमदिन उस्ले मसंग गर्ने ब्यवहार सम्झेर।

जब जब म खर्च माग्थेँ , निदाएको विवेक बोकेर ऊ सदा झैँ जाग्ने गर्थ्यो र आफ्नै दाजुप्रति संकेतगर्दै गर्जदै भन्ने गर्थ्यो ..
आमा ..?
तिमीलाई सरकारले दिएको बिधुवा भत्ता चाहिँ तिमीले कुन चुत्थालाई खुवायौ ..? म मौन मनभित्र भित्रै रोइदिन्थेँ। अनि किन हो मलाई लाग्थ्यो ..

हिजो यिनै सन्तान बचाउँन – बडो बनाउँन – जमानालाई आफ्नो पाखुरी बेचेँ- पसिना बेचेँ- बैँस -उमेर र सारा रहरहरु बेचेँ ..

आज
निरीह म – जानी जानी आफ्नो आँसु आफ्नै छोरालाई बेची रहेछु ..
केवल – आफू बाँच्नका निम्ति ..!!!

~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~
– यस्तै यस्तै कहानी लिएर आउँदै छु म अर्को एउटा कृतिको रूपमा चाडैं । विश्वास छ मेरा भावनालाई माया गरिदिनु हुनेछ यहाँ हरुले ।

जीवन कथा लेखक ; विमला कार्की

समाचार सेयर गर्नुहोस