सक्किगोनी…

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : बिहिबार, अशोज २, २०७६

काठमाडौं / विगत ६ बर्षदेखि सञ्चालनमा आएको हाँस्यटेलिसिरियल भद्रगोलबाट दर्शक माझ चिनिएका कलाकारहरुले नयाँ सिरियल लिएर आएका छन् । हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेलको लेखन तथा निर्देशनमा “सक्किगोनी” नामक सिरियल आजबाट हरेक बिहिबार नेपाल टेलिभिजन र युट्युबमा आउने भएको छ ।

मिडिया हब एजेन्सी सँग केही कुरामा असमझदारी भएपछि भद्रगोलका पुराना कलाकारहरुले नयाँ सिरियल निर्माण गरेका हुन् । केहिदिन देखि नयाँ सिरियलको पर्खाइमा रहेका दर्शकहरुको प्रतिक्षाको घडि आजबाट समाप्त भएको छ ।

पुरानै शैलीमा नयाँ कथाबस्तु सहित प्रस्तुत भएका “सक्किगोनी” टिमलाई चौतर्फी बधाई र शुभकामनाको ओइरो लागेको छ ।

ओ एस आर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक भएको “सक्किगोनी” सिरियललाई एकघन्टा नपुग्दै २ लाख ५० हजार भन्दा धेरै दर्शकले हेरिसकेका छन् भने, २५ हजार लाईक र ५०० डिसलाईक प्राप्त छ ।

अहिले देशभर फैलिरहेको लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको बिषयलाई सिरियलको सुरुवातमै उठान गरिएको छ । जिग्री र रक्षाको प्रस्तुति पुरानै शैलिमा देख्न सकिन्छ । तर, जिग्री र रक्षाको बिचमा अर्की युवती प्रियाना आचार्य ( मुन्निको) प्रवेश भएको छ ।

समाचार सेयर गर्नुहोस