सिरियाली युद्धविराम प्रस्ताव अनुमोदन

चौतारी मिडिया ग्रुप प्रकाशित मिति : सोमवार, फाल्गुन १४, २०७४

संयुक्त राष्ट्रसंघ : लामो समयदेखि हत्या हिंसा भइरहेको सिरियामा ३० दिन लामो युद्धविरा मगर्ने प्रस्ताव पारित भएको छ। उक्त युद्धविरामसम्बन्धी प्रस्ताव संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले शनिबार अनुमोदन गरेको छ। सिरियाली राजधानी दमास्कसको बाहिरी क्षेत्रमा पर्ने एक विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा यसै महिनाको शुरुवातदेखि ठूलो हिंसा शुरु भएको थियो। त्यसमा परी सयौँ नागरिक मारिएका छन्। उक्त क्षेत्रमा गत एक सातादेखि व्यापक मात्रामा बमबारी भइरहेको छ।

त्यस बमबारीमा सयौँ मानिस मारिएपछि सुरक्षा परिषद्कै पहलमा यो निर्णय लिइएको हो। खासगरी त्यस क्षेत्रमा मानवीय सहायताका लागि आवश्यक सामग्री र स्वास्थ्य उपचारका लागि उद्धारका कदम पनि चलाउन सकिएको छैन। त्यसैले उक्त युद्धविरामको समयावधिमा यहाँ चेपुवामा परेका र हिंसाको चपेटामा परेका कैयौँ नागरिकलाई सहायता सामग्री वितरणको कार्यक्रम चलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

सिरियामा जारी गर्न लागिएको यो पछिल्लो युद्धविरामको प्रस्तावले सबैभन्दा ठूलो जिहादी समूह र उनीहरूका सहयोगीहरूलाई भने सम्बोधन नगरेको गुनासो बढेको छ। यसले गर्दा त्यसको वास्तविक परिणाम कस्तो हुनेछ भन्ने प्रश्न तेर्सिएको पनि कतिपयले बताएका छन्। जिहादी समूहको प्रतिक्रिया भने अहिलेसम्म आएको छैन। उक्त प्रस्ताव पारित भएपछि पनि राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि निक्की हेलीले सिरियाको सरकारी सैन्यबल युद्धविरामको पक्षमा अभिनेमा शंका रहेको बताउँछिन्।

युद्धविराम प्रस्तावको पक्षमा रूस नरहेको अमेरिकाको आरोप थियो। यद्यपि रूसले प्रस्तावको पक्षमा मतदान गरेको थियो। अमेरिकाले भने प्रस्तावमा मतदानलाई ढिलो गराउन रूसले नै भूमिका खेलेको भन्दै रूसको आलोचना गरेको छ। त्यसैगरी रूसी राजदूतले पनि सुरक्षा परिषद्को प्रस्तावमा हुन लागेको भनिएको उक्त युद्धविराम कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका छन्।

सिरियाली सरकारी सैन्यबलको नेतृत्वमा आक्रमण शनिबार साँझ पनि भएको थियो। यसमा परी कैयाँै व्यक्तिको ज्यान गएको अनुमान गरिएको छ।

पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले घौटामा निकै आक्रामक कारबाही गरेको छ। नागरिक हत्याको अवस्था अत्यन्तै क्रूर रहेको र चेपुवामा परेका नागरिकको अवस्था निकै नै नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भएपनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो। सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजस्नामा माग्दै विद्रोह शुरु भएको थियो। त्यो आन्दोलनले केही वर्षयता आएर भने हिंसाको रूप लिएको छ। त्यस द्वन्द्वमा हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन्। त्यस्तै लाखौँ नागरिक घाइते भएका छन्।

जर्मनी र फ्रान्सले सिरियामा युद्धविरामका लागि ‘अधिकतम दबाब’ दिन रूसलाई आग्रह गरेका छन्। जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरी सिरियाको घौटा क्षेत्रमा पछिल्लो समय सयौँको ज्यान जाने गरी भएको द्वन्द्वबारे ध्यानाकर्षण गराउँदै सिरियामा जारी द्वन्द्व तत्काल रोक्न दबाब दिन आग्रह गरेको मर्केलको कार्यालयले आइतबार जनाएको छ।

शक्तिशाली युरोपेली नेताहरूले फोनवार्तामा राष्ट्रसंघको मध्यस्थतामा घोषणा गरिएको युद्धविराम कार्यान्वयनमा लान आग्रह गरे। उनीहरूले सिरियाली सरकारलाई युद्धविरामका लागि दबाब दिई हवाई तथा स्थल आक्रमण गर्नबाट रोक्न रूसले पहल गर्नुपर्नेमा जोड दिएका छन्।

बम आक्रमण जारी

बेरुत : सुरक्षा परिषद्मा सिरियाली युद्धविराम प्रस्ताव पारित भए पनि त्यहाँ हवाई आक्रमण र बम विस्फोट जारी रहेको अधिकारवादीले जानकारी दिएका छन्। बेलायती मानवाधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार डोमा क्षेत्रमा हवाई आक्रमण भइरहेको छ। त्यसैगरी पूर्वी घौटामा पनि बम विस्फोट भइरहेका छन्।

सिरियाको दमास्कस क्षेत्रमा विद्रोहीको नियन्त्रण छ। १८ फेब्रुअरीदेखि त्यस इलाकामा ५ सय १९ जनाको मृत्यु भएको छ। यसबाट मानवीय सहायता र औषधि उपचार गर्न सकिने अपेक्षा गरिएको छ। युद्धविराम प्रस्ताव पारित भए पनि कहिलेदेखि लागू हुने भन्ने विषयमा केही बताइएको छैन। आक्रमणको मानवीय हताहतीको बारेमा जानकारी नपाएको उनले दाबी गरे।

समाचार सेयर गर्नुहोस